दफा १२
रोजगार सम्बन्ध स्थापना हुने
: (१) रोजगारदाताले श्रमिकसँग रोजगार सम्झौता गरेमा वा मौखिक रुपमा श्रमिकलाई रोजगारी दिएमा वा आकस्मिक रोजगारीको हकमा श्रमिक काममा लागेको वा निजले सेवा प्रदान गरेको मिति वा समयदेखि रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना हुनेछ ।
(२) रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना भएको छ वा छैन भन्ने सम्बन्धमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण कार्यालयले गर्नेछ ।
(३) यस ऐन बमोजिम विभाग वा अदालत समक्ष विचाराधीन कुनै विषयमा उपदफा (२) बमोजिमको विवाद समेत समावेश भए विभाग वा अदालतले त्यस्तो विवादकोसमेत निरुपण गर्नेछ ।
(४) उपदफा (२) को प्रयोजनको लागि कार्यालयले रोजगारदातालाई निजसँग रहने रोजगारसँग सम्बन्धित कुनै प्रमाण वा अभिलेख पेश गर्न आदेश दिन सक्नेछ र त्यस्तो आदेश बमोजिम रोजगारदाताले प्रमाण वा अभिलेख पेश नगरेमा रोजगारदाता र श्रमिकबीच रोजगार
सम्बन्ध स्थापना भएको मानिनेछ ।